क्वालालम्पुर, भाद्र २१ - मलेसियाली मानवसंशाधन मन्त्री दातुक रिचर्ड रियट
जइमले बिहीबार जोहोरबारुस्थित जेसिवाई एचडीडी टेक्नोलोजी कम्पनीमा कार्यरत नेपाली
कामदारलाई भेटेका छन् । उनले नेपाली कामदार बस्ने होस्टलको अवलोकनसमेत गरे ।
कम्पनीमा गत अगस्ट २१ देखि नेपालीलगायतका कामदार विभिन्न माग राख्दै आन्दोलित छन्
। मन्त्री जइमले नेपालीलगायत विदेशी कामदारको बसाइँ अवस्था र समस्याबारे चासो
राखेको नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिए । उनका अनुसार जइमले
कम्पनी व्यवस्थापनलाई भेटी होस्टल व्यवस्थित बनाउन र सुपरभाइजर नेपाली राख्न
सुझाएका थिए ।
जइमले कम्पनी र कामदार सम्मिलित
संयुक्त समिति गठन गरेर अघि बढ्न सुझावसमेत दिए । उनले १६ लाख कानुनी हैसियतका
विदेशी कामदारको हेरचाह हुनुपर्ने बताए । र उनीहरूबाट नराम्रो हुन नदिन त्यसो
गर्नु महत्त्वपूर्ण हुने औंल्याए । मन्त्री र नेपाली राजदूतसितको भेटपछि
कम्पनीपक्षले पन्ध्र सय कामदारका लागि १ वर्षभित्रै नयाँ होस्टल निर्माण गर्ने
प्रतिबद्धता जनाएको बस्न्यातले बताए । केही साताअघि नेपालको औपचारिक भ्रमणसमेत
गरेका मन्त्री जइमले कामदार बाहुल्यताका आधारमा सुपरभाइजर नियुक्त गरे समस्या
सुल्झाउन सजिलो हुने बताए ।