नेपाली युवा र थाईल्याण्डको खेल बराबरी
Admin / 2014-08-31 10:04:02
काठमाडौं– सुनिल वलले अन्तिम समयमा गोल गरेपछि नेपालको यु–१६ टोलीले आइतबार मैत्रीपूर्ण खेलमा थाइल्यान्डको यु–१६ टोलीसँग ३–३ को बराबरी खेलेको छ। घरेलु टोली थाइल्यान्डले ३–२ को अग्रता लिइरहेको बेला सुनिलले ८९औं मिनेटमा बराबरी गोल गरे। नेपाली युवा टोली शनिबार देखी सुरु हुने एएफसी यु–१६ च्याम्पियनसिपको तयारीका लागि बुधबार थाइल्यान्ड गएको थियो।
च्याम्पियनसिपको लागि लामो समयदेखि तयारीमा रहेको टोलीले खेलेको अन्तिम अभ्यास खेलमा आइतबार सुरुमै गोल सामना गर्नुपरेको थियो। थाइल्यान्डले पाँचौं मिनेटमै अग्रता लिएको थियो। तर बेल्जियमको एन्डरलेको एकेडेमीमा अनुबन्धित भएर उतै प्रशिक्षण गरेका नेपाली टोलीका कप्तान विमल घर्तीमगरले १० औं मिनेटमा बराबरी गोल गरे। गोल गरेलगत्तै घाइते भएर विमलले मैदान छोड्नु नेपाली टोलीका लागि दूर्भाग्य थियो।
प्रशिक्षक बालगोपाल महर्जनले विमलको स्थानमा अनिल राईलाई मैदानमा पठाए। घरेलु टोलीले १८औं मिनेटमा अग्रता २–१ ले फराकिलो पार्योा। दोस्रो हाफमा प्रशिक्षक महर्जनले किरण राई र अनिल राईको स्थानमा हेमन्त थापा र संजय राईलाई मैदानमा पठाए। ६९औं मिनेटमा विकास थापाले गोल गर्दै खेल बराबरी गरे। थाइल्यान्डले समय सकिन १० मिनेट बाँकी रहँदा फेरी खेलमा अग्रता लियो। जसलाई सुनिलले समय सकिन एक मिनेट बाँकी रहँदा बराबरीमा ल्याएर युवा टोलीलाई हारबाट जोगाए।
अर्को वर्ष हुने फिफा यु–१७ विश्वकपको छनोटको समेत हैसियत बोकेको च्याम्पियनसिपको तयारीको लागि यसअघि युवा टोलीले दक्षिण कोरियामा दुई हप्ता र वेल्जियममा १ हप्ता अभ्यास गरेको थियो। त्यसक्रममा टोलीले कोरियामा ३ र बेल्जियममा २ मैत्रीपूर्ण खेल खेलेको थियो।
थाइल्यान्डको बैंककमा हुने च्याम्पियनसिपमा नेपालले आइतबार उज्वेकिस्तानसँग खेल्दैछ। समूह ‘सी' मा रहेको नेपालले दोस्रो खेल भदौ २४ मा कुवेत र भदौ २६ मा उत्तर कोरियासँग समूहको अन्तिम खेल खेल्नेछ। समुह ‘ए' मा रहेको आयोजक थाइल्यान्डले शनिबारको उद्घाटन खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। च्याम्पियनसिपको सेमिफाइनल पुग्ने टोलीले अर्को वर्ष चिलीमा हुने यु–१७ विश्वकप फुटबलमा एसियाको प्रतिनिधित्व गर्न पाउनेछन्।
प्रकाशित मिति: 2014-08-31 10:04:02
प्रतिक्रिया: