बाढीपहिरोमा परी २ सय ६९ जनाको मृत्यु
Admin / 2014-08-20 03:04:04
नेपाल ब्युरो– भदौ ४, काठमाडौ ।
नेपालमा विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या २ सय ६९ पुगेको तथ्याङक सार्वजनिक भएको छ ।
गृह मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ८६ जना घाइते, १ सय २७ जना बेपत्ता र २० हजार ५ सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।
प्रमुख राजमार्गहरु अरनिको, पूर्व–पश्चिम, मध्यपहाडी, बिपीलगायत ठाउँठाउँमा पनि बाढीपहिरोका कारण अवरुद्ध भएका छन् । गृहअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार सिन्धुपाल्चोकको पहिरोमा सबैभन्दा बढी १ सय ५६ जनाको मृत्यु भएको छ ।
यसबाहेक एक सातायता वर्षाका कारण आएको बाढीपहिरो र डुबानले देशका २५ जिल्ला प्रभावित भएका छन् । यसमा १ सय ३३ जनाको ज्यान गएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी सुर्खेतमा ३३ जनाको मृत्यु भएको छ । त्यस्तै बर्दियामा २३, दाङमा १४, सल्यानमा ७, बाँकेमा ५, जाजरकोटमा ४, ललितपुरमा ३, डडेलधुरमा ३, गोरखामा ३, धनुषामा १, सर्लाहीमा १, उदयपुरमा १, सिन्धुलीमा १, रुकुममा ३, खोटाङमा १, चितवनमा २, रोल्पामा ४, कैलालीमा १, कालिकोटमा १, नवलपरासीमा १ र अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ ।
बाढीपहिरोका कारण सात जिल्लाका १ सय २७ जना बेपत्ता रहेको केन्द्रले जनाएको छ । यसैवीच विस्थापित परिवारको उद्धारका लागि चार हेलिकप्टर प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: 2014-08-20 03:04:04
प्रतिक्रिया: